home कथा नियात्रा कविता मनोबाद सत्य कथा लघु कथा फोटो संग्रह सम्पर्क गर्नुहोस् लेखकको बारेमा
कविता

आमाको वेदना !

Jay Rimal Apr 01, 2025   •   1507 Views
AI वाचक (नेपाली) समाचार सुन्न यहाँ क्लिक गर्नुहोस्

 

बिच सडकमा बुढी आमै ढलेकी छिन्,

शरीर उनको चलेको छैन, आँखा खुलेको छैन ।

सयौं आँखा अनि दर्जनौं क्यामेराहरु,

केवल उनको अवस्थालाई कैद गर्दैछन् ।

 

उनलाई कसैले अस्पताल लग्दैनन् !

कोही टुलुटुलु हेरिरहन्छन् । 

कोही उनका व्यथा क्यामेरामा कैद गरिरहन्छन्,

सायद उनको उपचार कसैको प्राथमिकताको विषय नै होइन ।

 

कोही "अरू आउलान्’ भन्दै उभिए,

कोही अरुले गर्लान् भन्दै पन्छिए,

कोही "झन्झट होला’ भन्दै चुपचाप बसे,

कोही मेरो कोही होइन भन्दै दुला पसे,

कोही प्रहरीमा गएर बयान किन दिनु भनी टाढै बसे ।

 

कहाँ गए ती हात ?

जो उठाउँथे परेको बेलामा अनि दिन्थे दु:खमा साथ ।

किन बने सबै मानिस रमिते ?

आखिर किन हरायो मानवीय संवेदना ?

 

सबैका मोबाइल झिलिक-झिलिक चम्किरहे,

तर मान्छेको मन विलाउॅदै गयो, करुणा हराउँदै गयो ।

हुन त जब मान्छे नै मान्छे रहॅदैन,

त्यसपछि बाँकी त के नै रहन्छ र ?

 

चिच्याउँदै सोध्न मन लाग्छ, 

ओ मानवता, तिमी कता हरायौं ?

हामी सबको मन किन यसरी मरायौ ?

अब त उठ, केही त बोल,

नत्र संवेदना हुनेछ केवल एक खोल ।

 

नबनौं रमिते कोही, दिऔं दु:खमा साथ,

बर्बादीको बाटो छोडी, उठाऔं सबले हात ।

फालौं नक्कली पर्दाहरू, खोलौं मनको ढोका,

मानवताको रक्षा गरौं, सबै मिली टोलका ।।

तपाईलाई यो रचना कस्तो लाग्यो?

😍 6 उत्कृष्ट
🤩 2 रोचक
😢 4 दुखद
प्रतिक्रिया दिनुहोस्