home कथा नियात्रा कविता मनोबाद सत्य कथा लघु कथा फोटो संग्रह सम्पर्क गर्नुहोस् लेखकको बारेमा
कविता

सद्‍भावको सन्तरी

Jay Rimal Feb 23, 2026   •   526 Views
AI वाचक (नेपाली) समाचार सुन्न यहाँ क्लिक गर्नुहोस्

 

आजकाल मोबाइलको “रिङटोन” ले

सूचनासँगै व्यस्तता बढाइरहेछ ।

समन्वयका पानामा हार्दिकताका हरफ बढाउँदै जाँदा

छिमेकमा लागेको आगोले चिन्ता थपिरहेछ ।।

 

आशंकाले जन्माएको कम्पनसँगै,

आक्रोशको ज्वारभाटा थाम्नुछ यहाँ । 

सडकमा निस्केको मशालभन्दा धेरै

सामाजिक सञ्जालको आगो निभाउनुछ जहाँ ।।

 

मन्दिरको घण्टी र मस्जिदको अजान,

दुवैको अस्तित्व जोगाउनुछ जहाँ।

मतदाता र मतपेटिकाको मात्रै होइन,

विश्‍वासको समेत रक्षा गर्नुछ यहाँ ।।

 

हामी सचेत छौं-

कतै एउटा अफवाहले शहरको शान्ति नखोसियोस् !

धार्मिक-सांस्कृतिक सद्‍भाव तोड्न

प्रतिशोधको आगो नझोसियोस् !!

 

हामी प्रतिबद्ध छौं- 

सेवाले भरिएको हाम्रो मस्तिष्कलाई,

तन-मनले कहिल्यै थाक्न दिंदैनौं ।

देश र जनताको शान्तिको अभिलाशा 

कसैले चाहँदैमा रोक्न दिंदैनौं ।।

 

हामी बुझ्दछौं- 

आम नागरिकको मौन अपेक्षा,

राज्यले सुम्पेको जिम्मेवारीको हिस्सा ।

साथ लिई सहकर्मीको आँट र भरोसा,

चिर्दै जानेछौं तमाम प्रतिकूलता,

किनकी,

कर्तव्य नै हो हाम्रो जिजीविषा ।।

तपाईलाई यो रचना कस्तो लाग्यो?

😍 13 उत्कृष्ट
🤩 0 रोचक
😢 0 दुखद
प्रतिक्रिया दिनुहोस्