home कथा नियात्रा कविता मनोबाद सत्य कथा लघु कथा फोटो संग्रह सम्पर्क गर्नुहोस् लेखकको बारेमा
कविता

सैनिक आँगनमा प्रहरी अनुभूति

Jay Rimal May 27, 2026   •   57 Views
AI वाचक (नेपाली) समाचार सुन्न यहाँ क्लिक गर्नुहोस्

एक प्रहरी अधिकृत,

सैनिक पाठशालाको आँगनमा उभिंदा,

उचाईबाट देखिने सुन्दर दृश्यले 

उसको मन प्रफुल्लित हुन्छ ।

 

बदन स्पर्श गर्ने शीतल पवनबाट मदहोस उ 

रंगिन बादलले पहाड चुम्दा तरंगित हुन्छ ।

अनायसै उसको भावना शब्दमा पोखिन्छ, 

अनि एउटा मिठो कविताको सृजना हुन्छ ।।

 

उ केहीबेर टोलाउँछ, 

सांगठनिक सम्बन्धलाई केलाउँछ ।

अनि प्रहरी र सेनाको सम्बन्ध 

निकै गहिरो भएको आत्मबोध गर्छ ।।

 

यो केवल वर्दीको सम्बन्ध होइन,

विश्वास, सम्मान र एकताको हो ।

नागरिक सेवामा सहकार्य अनि

राष्ट्रिय सुरक्षामा साझा प्रतिबद्धताको ।।

 

यहाँ सिकाइका बिधि त फरक छन् नै, 

तरिका समेत फरक छ ।

 

शिक्षा केवल मस्तिष्कमा होइन, 

चरित्र र व्यवहारमा रोपिन्छ ।

अनि निष्ठा र योगदानको चिरफार गरी,
दुरदृष्टि र युद्धकला खोजिन्छ । ।

 

प्रिपेयर्ड टक र एक्सटेम्पोबाट शब्दको साथै

विचार र दृष्टिकोण तय गरिन्छ,

समसामयिक विषयमा बहस गरी 

तार्किक क्षमता बढाइन्छ ।

इतिहासको समिक्षाबाट

आगामी कार्यदिशा तय गरिन्छ ।।

 

यहाँ स्टाफ राइडका यात्रामा

भुगोललाई इतिहाससँग संवाद गराइन्छ ।

डाँडाकाँडामा लगी कथा सुनाइन्छ,

पूर्खाका बलिदानलाई स्मरण गराइन्छ ।।

 

चर्चित किताबको समिक्षा गरी 

रणनीतिक सन्देश निकालिन्छ ।

साहसिक हाइकिङबाट 

आत्मविश्वासको उचाई बढाइन्छ । 

 

यहाँ साँझलाई रंगिन मात्रै बनाइँदैन,

इतिहासको गौरवलाई पुनर्जीवित गराइन्छ ।

कला र संस्कृतिलाई एकै तालमा नचाइन्छ,

अनि स्वाभिमान र राष्ट्रिय एकताको भावना जगाइन्छ ।

 

हरेक सामाजिक गतिविधि सहभागिता गराइन्छ,

पारिवारिक अपनत्वको भावना जगाइन्छ ।

पढिन्छ, गाइन्छ, नाचिन्छ र खेलिन्छ,

अनि थकित मनलाई विश्राम दिलाइन्छ ।

 

त्यसैले, यो कोर्ष, 

सफलता र उपाधीको मात्र यात्रा होइन ।

आत्म-परिष्कार र निष्ठाको साधना हो,

त्याग र मेहनतको उच्चतम प्रतिफल हो ।।

तपाईलाई यो रचना कस्तो लाग्यो?

😍 2 उत्कृष्ट
🤩 0 रोचक
😢 0 दुखद
प्रतिक्रिया दिनुहोस्